नेकपा (एमाले),तिनाउ गाउँ कमिटी-
पाल्पाले संघीय निर्वाचन-२०८२ काे चुनावी समीक्षा कार्यक्रम शनिवार, झुम्सामा सम्पन्न गरेकाे छ । 
नेकपा एमाले,तिनाउका ईन्चार्ज दलबहादुर गुरुङले संघीय निर्वाचन- २०८२, पाल्पा क्षेत्र नं.२ मा एमालेकाे स्थिति,तिनाउमा प्राप्त मत र साेकाे विश्लेषण,चुनावी सवलता,कमजाेरी पक्ष र एमालेकाे भावी याेजना विषयमा प्रस्तुतीकरण गरेका थिए ।
साेही विषयमा केन्द्रीत रही पाल्पा क्षेत्र नं.२ का एमाले उम्मेदवार समेत रहेका केन्द्रीय कमिटी सदस्य ठाकुरप्रसाद गैरेले चुनावमा सहभागी नेता, कार्यकर्ता,शुभचिन्तक, समर्थक र मतदाताहरुलाई धन्यवादज्ञापन गर्दै आफूले र आफ्नाे पार्टीले पराजय भाेगेता पनि सधैंभर जनताकाबीच रहिरहने बताए ।
पार्टीकाे हारलाई वडादेखि केन्द्रसम्म गहन तथा घनिभूतरुपमा छलफल गरि पार्टीको नीति,नेतृत्व,जीवनशैली र कार्यविधिमा समेत परिमार्जन गरि नेकपा एमाले अघि बढ्ने नेता गैरेले बताए । 
साे कार्यक्रममा जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरले चुनावमा एमाले तिनाउ गाउँ कमिटीकाे प्रयास र प्रयत्न उल्लेखनीय रहेतापनि साेचजस्ताे मत हासिल गर्न नसकिएकाेमा पार्टीको आन्तरिक व्यवस्थापन र बाह्य कारणसमेत रहेकाे बताए ।
पार्टीका जिल्ला कमिटी सदस्य एवम् तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा विकास निर्माणका कामहरु प्रशस्त भएपनि साे अनुसार मत संकलन गर्न नसकिएकाे बताए । समीक्षा कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु यादव अर्याल,सावित्रा राना,ईन्द्राकुमारी चिदी,तुलबहादुर आले,भुवानसिह चिदी,माया दर्लामी, रामबहादुर थापा,एमानसिह चिदी, लालबहादुर दर्लामी,कृष्ण अर्याल, यमबहादुर चिदी,मनाेज आले, गाेबिन्द पाण्डेय, लक्ष्मण कुमाल,भुवन जीसीलगायतले तिनाउमा एमाले पहिला शक्ति हुन नसक्नुका कारणकाे खाेजी र भविष्यमा पार्टीले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा प्रकाश पारेका थिए ।
साथै उनीहरुले पार्टीलाई सैद्धान्तिक रुपले स्पातिलाे र व्यवहारिक रुपमा अनुशासित बनाउँदै संगठनलाई गतिशील बनाउनु पर्नेमा जाेड दिएका थिए । एमालेले हारलाई स्वीकार गरि पुन: विजययात्राकाे सुरुवाती कदम बनाई अघि बढ्ने उनीहरुकाे तर्क थियाे । 
गाउँ कमिटी अध्यक्ष राेमबहादुर लम्तरीले सहभागीहरुलाई स्वागत तथा धन्यवादज्ञापन गरेका थिए ।
