Hamro Goreto
तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप
Monday, 29 Nov 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

 

तिलोत्तमा,  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोना विरुद्धको खोप लगाइँदै छ । यसअघि कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

खोपको सहज व्यवस्थापनको लागि नगरपालिकाका १७ वटा वडामैं खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोना विरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाको भनाइ छ ।   

तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथि कोरोना विरुद्धको पहिलो खोप नलगाएका झण्डै २७ हजार नगरबासी रहेको अनुमान छ । नगरमा झण्डै ४८ हजार जनाले यसअघि नैं कोरोना विरुद्धको खोप लगाइसकेको स्वास्थ्य शाखाको तथ्यांक छ ।  

यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नगरबासीले पनि तोकिएको समयसीमा पूरा भएको अवस्थामा सोमबार र मंगलबार खोप लगाउन सक्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

हरेक वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले आफ्नो कार्यक्षेत्रमा रहेका नागरिक खोपबाट नछुटुन् भनेर आ—आफ्नो तरिकाले सूचना प्रकाशन, माइकिङ, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, स्वास्थ्य स्वयमंसेविका मार्फत् प्रचारप्रसार गरेका छन् । नगर प्रमुख बासुदेव घिमिरेले कोरोना विरुद्धको खोपबाट १८ वर्षमाथिका कुनै पनि नगरबासी नछुटुन् भनेर सूचना प्रवाह टोलस्तरमा पुर्याइएको बताउँदै आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन सबै नगरबासीलाई आग्रह गर्नुभयो ।