Hamro Goreto
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट "जेएन–१" पुष्टि, सङ्क्रमण दर उच्च
Tuesday, 09 Jan 2024 23:30 pm
Hamro Goreto

Hamro Goreto

ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन-१ काे सङ्क्रमण दर नेपालमा पनि बढिरहेको पाइएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब-भेरियन्ट, जेएन-१ नेपालमा पहिलो पटक पुष्टि भएको बताए ।

इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । “सहरमा बढी भीडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको छ”, उनले भने, “रोगको जटिलता र मर्ने दर भने कम रहेको छ ।” 

हाल विश्वका केही देशहरुमा कोभिड-१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन-१ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको छ ।

सङ्क्रामक दर बढी भएकाले सङ्क्रमण र सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि सबै जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा अपिल गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को नयाँ सब भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक ‘स्किनिङ्ग’ र निगरानी गरिरहेको जनाएको छ ।