
काठमाण्डाैंमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ।उक्त खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसाे साढे ११ बजेदेखि सुरू हुनेछ।
अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो। हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो। आजको खेलमा पनि नेपाल उत्कृष्ट प्रदर्शन र जितको खोजीमा रहनेछ।
सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको समान २/२ अंक छ। नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा छ।
आजको खेल जित्न सक्दा नेपालको दुई अंक जोडिन्छ। नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्नेछ।