Hamro Goreto
देश सेवाका लागि तयारीमा जुटेका युवाहरु देख्दा.... ।
Saturday, 16 Aug 2025 00:00 am
Hamro Goreto

Hamro Goreto

 

 

 दलबहादुर गुरुङ

 

 

साउन २८ गते, बुधवार । दाङको लमहीबाट फर्किदै थिएँ, साथी दीपक ढकालको फोन आयो । भोलि हाम्रो चैतन्य एकेडेमी, बुटवल शाखामा उत्प्रेरणामूलक सेसन लिन आउनुपर्याे । केही नसोची–हुन्छ भन्दिएँ ।

 

यात्राले होला शरीर थाकेको थियो । बिहीवार बिहान वाक जान सकिनँ । ढिला उठे पनि खाना पकाई–खुवाई गरी छोरालाई कलेज र मेडमलाई अस्पताल पठाएँ ।

 

बिहान ११ बजेतिर खाना खाईवरि ल्यापटपमा पिङ् खेलें । करिब तीन घण्टाको समयमा २५ वटा प्रिजेन्टेसन स्लाइड बनाएँ । चित्रको सहारा धेरैं लिएँ । विषय थियो–अद्वितीय क्षमता विकास गर्दै प्रेरणादायी यात्रा । दीपक सरबाट प्राप्त शीर्षकमा लामो समय घोरिएर सोच्नुपरेको थियो ।

 

चैतन्य एकेडेमी, बुटवलमा लोकसेवा, शिक्षा सेवा आयोग र बैंकिङ्ग सेवाका तयारी कक्षाहरु चल्दा रहेछन् । सहभागी विद्यार्थीलाई सहजीकरण गर्ने अवसर चैतन्यका बुटवल सञ्चालक एवं व्यवस्थापक दीपक सरले दिएका थिए । उनी बुटवल क्षेत्रमा शैक्षिक अभियन्ताका रुपमा परिचित छन् ।

 

हजारौंका संख्यामा वैदेशिक रोजगार र शिक्षाका लागि विदेशिनेहरुका बीचमा स्वदेशमै पढी, स्वदेशमै जागिर गरेर सेवा गर्ने रहर बोकेका युवाहरुका अनुहार हेर्दा पनि मनमा उत्साह थपियो, जाँगर भरियो । लोकसेवा, शिक्षा सेवामा उत्तीर्ण गरेर देशमै रोजगारी हुन्छु, देशकै सेवा गर्छु भन्ने मनसाय बोकेका देशभक्त युवाहरुलाई सहजीकरण गर्दा गर्वले छाती सगरमाथा भयो । भावनाले मन उद्वेलित भयो । “नेपाल आमालाई माया गरौं । नेपाली हुनुमा गर्व गरौं ।” भन्ने सन्देशमूलक नाराले मस्तिष्कलाई सीधै प्रवाहित गरायो ।

 

ओेठ निचोर्दा दूध आउने खालका युवाहरु घरपरिवार, देश छाडेर जाँदा जनसंख्यामात्र होइन घट्ने, अर्थतन्त्रमा समेत प्रतिकूलता देखिन थालेको पाइन्छ । यसले भोलि देशको अवस्था के होला ? तर, चैतन्यले सबै पढेलेखेका युवाहरुलाई देशप्रति सजग गराएको छ । आफ्नै भूमिमा पढ्न र केही गर्न सन्देश बाँडेको छ ।

 

“देशमा केही सम्भव छैन, देश खत्तम भयो” भन्ने गलत भाष्य निर्माण भइरहेको वर्तमान परिवेशमा युवाहरुलाई आफ्नै देशको सेवामा समर्पित हुनका निम्ति अड्याउन गरेको चैतन्यजस्तै एकेडेमीको भूमिकालाई नजरअन्दाज गर्नुहुँदैन । 

देशको सेवा गर्नु हरेक नागरिकको कर्तव्य हो । सुखमा हाँसेर अनि दुःखमा बाँचेर आफ्नो भूमिलाई स्नेह, ममता गर्नु सबै नेपालीको दायित्व हो ।

 

गतवर्ष एसईई उत्तीर्ण भएका २ लाख ३५ हजार विद्यार्थीमध्ये १ लाख २३ हजार विद्यार्थीले एनओसी सिफारिस लिएका थिए । यो तथ्यांकले निको र सकारात्मक सन्देश पक्कै दिएको छैन । नेपालमै गुणस्तरीय शिक्षा प्राप्त हुन सक्छ, पढ्दै कमाउँदैमार्फत् स्वदेशमै पढ्न सकिन्छ र घरपरिवारसँगै आँटोपीठो खाएर पनि शिक्षा लिन सकिन्छ भन्ने चेतना फैलाउनु पनि चैतन्य एकेडेमीजस्ताको खाँचो छ । 

किन युवाहरु स्वदेशमा टिक्न सकेका छैनन् ? वैदेशिक रोजगार र शिक्षा लिन जानेको संख्या किन कम गर्न सकिएको छैन ? तीनै तहका सरकारहरुको दायित्व र भूमिका के–कस्ता छन् ? यसका बारेमा गहिरो खोज, अध्ययन र अनुसन्धान किन हुन सकिरहेको छैन ? त्यसैले नयाँ पुस्तालाई देशभक्तिपूर्ण भाव विकास गर्नुपर्नेछ । राज्यले दिने सेवा, सुविधाको प्रचुर सदुपयोग गर्नुपर्ने अवस्था पनि छ ।

करिब दुई घण्टा शिक्षित युवाहरुसँग अन्तरक्रियात्मक छलफलमा भाग लिइरहँदा उनीहरुका विचार, भावना बुझ्ने अवसर मिल्यो । पढाइ अनुसारका रोजगार आफूहरुले पाउनुपर्ने तर, त्यसका लागि अवसरको खाँचो रहेको बताए । देशलाई चिन्नुपर्नेमा सबैको जोड रह्यो । 

अद्वितीय क्षमता के हो ? क्षमता विकास कसरी सम्भव छ ? क्षमता अभिवृद्धिका आधार र अभ्यास के हुन् सक्छन् ? सफलताका सोपान के हुन् ? सोही विषयमा सहजीकरण गरिरहँदा निधारमा टीका, गलामा माला, खादा लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शैक्षिक उन्नतिका लागि उडे पनि बाँकी रहेका युवाहरुलाई यस्तै तयारी कक्षामा देख्दा खुसीले धूरी चढ्छन् ।उत्साह, उमंगमा परिणत हुन्छन् ।

 

सेसन लिइरहँदा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल र दीपक सर मसँगै थिए । विद्यार्थीका अनुहार पढिरहेको थिएँ । भाव सकारात्मक भेटें । अन्तिमतिर सहभागी तीनजनाले सिकाईका अनुभवहरु बाँडे । अर्जुनले युवा विद्यार्थीलाई हौसला दिए । 

मायाको चिनो लिएँ, दीपक सरमार्फत् । एउटा कविता सुनाएर कार्यक्रमबाट छुट्टी लिएँ । युवा विद्यार्थीले जोडदार ताली बजाए । मेरो नाक टिप्न बिर्सिएको घिरम्ला जत्रो भयो । अर्जुनको भटभटे चढेर घरमा आउँदा साँझको पौने ८ बज्दैथियो ।