
बिन्दु राज सापकोटा
“हाम्रो पृथ्वी, हाम्रो दायित्व” भन्ने भावनालाई आत्मसात गर्दै प्रत्येक वर्ष जुन ५ मा विश्वभर विश्व वातावरण दिवस (World Environment Day) मनाइन्छ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९७३ देखि मनाउन सुरु गरिएको यो दिवस वातावरण संरक्षण, जैविक विविधताको सुरक्षा, प्रदूषण नियन्त्रण तथा दिगो विकासप्रति विश्व समुदायलाई सचेत र सक्रिय बनाउने उद्देश्यले मनाइँदै आएको छ ।
वातावरण भनेको के हो?
मानव, जीवजन्तु, वनस्पति तथा सम्पूर्ण जीवित प्राणीलाई चारैतिरबाट घेरेर प्रभाव पार्ने प्राकृतिक, जैविक, सामाजिक र भौतिक तत्वहरूको समष्टिलाई वातावरण भनिन्छ । यसमाः हावा, पानी, माटो, वनस्पति, जीवजन्तु, जलवायु, मानव समाज, संस्कृति आदि समावेश हुन्छन् ।
यस बर्षको विश्व वातावरण दिवसको मुख्य विषयवस्तु “Inspired by Nature. For Climate. For Our Future=” अर्थात “समृद्ध भविश्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास” रहेको छ । यस विषयवस्तुले जलवायु परिवर्तनको सामना गर्न पृथ्वीका प्राकृतिक पारिस्थितिक प्रणालीहरूको उपयोग र संरक्षणमा जोड दिन्छ । साथै, दिगो र सुरक्षित भविष्य सुनिश्चित गर्न वातावरण संरक्षणको महत्वलाई विशेष रूपमा उजागर गर्दछ । यसको मुख्य सन्देश भनेको प्रकृति केवल हाम्रो जीवनको आधार मात्र होइन, जलवायु संकटको समाधानको एक महत्वपूर्ण स्रोत पनि हो । वन, सिमसार क्षेत्र, घाँसे मैदान, नदी, ताल तथा समुद्री पारिस्थितिक प्रणालीहरूको संरक्षण र पुनस्र्थापनामार्फत कार्बन अवशोषण बढाउन, जैविक विविधता जोगाउन र जलवायु परिवर्तनका असरहरू कम गर्न सकिन्छ । अर्थात्, प्रकृतिको संरक्षण गरेर नै जलवायुको रक्षा गर्न र भावी पुस्ताका लागि सुरक्षित तथा समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश यस वर्षको विषयवस्तुमा केन्द्रित छ भने मुख्य नारा “The planet doesn't argue” अर्थात् “पृथ्वीले बहस गर्दैन, सम्झौता गर्दैन, यसले केवल संकेत दिन्छ” भन्ने रहेको छ । यस नाराले एउटा गम्भीर सन्देश दिन्छ—प्रकृतिले चेतावनी दिइरहेको छ, अब बहस होइन, कार्य गर्ने समय आएको छ । यसले सम्झौता गर्दैन । यसले संकेतहरू पठाउँछ—समुद्री सतह बढ्दै गएको, भीषण डढेलो, अत्यधिक गर्मीका लहरहरू, पग्लँदै गरेका हिमनदीहरू । जलवायु परिवर्तनले विश्व मानव समुदाय, जैविक विविधता, कृषि, जलस्रोत तथा समग्र पृथ्वी प्रणालीमा गम्भीर प्रभाव पारिरहेको वर्तमान अवस्थामा यस वर्षको विषय अत्यन्त सान्दर्भिक र समय सापेक्ष बनेको छ । अजरबैजान गणराज्यको राजधानी बाकुमा आयोजित यो पहल विश्वव्यापी जलवायु कार्यलाई एकजुट गर्ने, मौसमी चरम सीमालाई सम्बोधन गर्ने र जलवायु परिवर्तन र शहरीकरण बीचको महत्वपूर्ण सम्बन्धलाई प्रकाश पार्ने कुरामा पनि केन्द्रित छ ।
जलवायु संकट ः विश्वको साझा चुनौती
आज विश्व जलवायु संकटको गम्भीर मोडमा उभिएको छ । पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ । हामीले १.५ डिग्री सेल्सियस लाई सीमाको रूपमा मानेका थियौँ । तर अहिले हामी त्यो सीमा पार गरिरहेका छौँ । हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । समुद्री सतह बढ्दै गएको छ । विश्वका विभिन्न भागहरूमा अत्यधिक वर्षा, खडेरी, डढेलो, बाढी तथा आँधीबेहरीका घटनाहरू बढिरहेका छन् । वन विनाश, जीवाश्म इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण, अनियन्त्रित सहरीकरण तथा हरितगृह ग्यासहरूको बढ्दो उत्सर्जनले पृथ्वीको वातावरणीय सन्तुलनलाई चुनौती दिइरहेको छ । यसको प्रत्यक्ष प्रभाव खाद्य सुरक्षा, पानीको उपलब्धता, जैविक विविधता तथा मानव स्वास्थ्यमा देखिन थालेको छ । दशकौँदेखि विश्वले जलवायु परिवर्तनको कथा सुन्दै आएको छ—चेतावनीहरू, लक्ष्यहरू र टाढाका समयसीमाहरू—तर धेरैजसो अवस्थामा यसको प्रतिक्रिया ढिलाइ, बहाना र अस्वीकारले ढाकिएको छ ।
विश्व वातावरण दिवस २०२६ जलवायु परिवर्तनमा केन्द्रित छ—पृथ्वीले पठाइरहेका अत्यावश्यक संकेतहरू र हामीले त्यसको जवाफमा दिने संकेतहरूमा । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) को विश्वव्यापी अभियानले हामी सबैलाई अगाडि बढ्न, अझ सक्रिय बन्न र परिवर्तनको गतिलाई सही दिशामा लैजान आह्वान गर्दछ । अब प्रश्न परिवर्तन आउँछ कि आउँदैन भन्ने होइन, प्रश्न त हामीले त्यसलाई कसरी मार्गनिर्देशन गर्छौँ र कति छिटो परिवर्तन सम्भव बनाउँछौँ भन्ने हो ।
जलवायु परिवर्तनमा मुख्य रुपमा मानव गतिविधिहरुको ठूलो भूमिका रहेकोछ । विशेष गरि हरितगृह ग्यासको अत्यधिक उत्सर्जन यसको प्रमुख कारण हो । जलवायु परिवर्ततनका मुख्य कारणहरुमा जीवाश्म इन्धनको प्रयोग सबै भन्दा ठूलो वन विनास, उद्योग र उर्जा उत्पादन, यातायात क्षेत्र, कृषि तथा पशु पालन, फोहोर व्यवस्थापन आदि रहेका छन् । विश्व व्यापी उत्सर्जनको क्षेत्रगत योगदानमा उर्जा उत्पादन (३४%), उद्योग (२४%), कृषि, वन तथा भूमी प्रयोग (२२%), यातायात क्षेत्र (१५%) र भवन तथा अन्य (५%) रहेको छ ।
वायुमण्डलमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने जीवाश्म इन्धन (जस्तै कोइला, पेट्रोल, डिजेल) को दहन, जंगल कटान, र ठूला उद्योग र उर्जा उत्पादनबाट हुन्छ । जब हामी कोइला वा जीवाश्म इन्धन जलाउँछौं, त्यसले ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन गर्छ, जसले हरितगृह ग्यासको प्रभाव बढाउँछ । त्यसैगरी, जंगल फँडानीले कार्बन भण्डारण गर्ने प्राकृतिक क्षमता घटाउँछ, जसले गर्दा वातावरणमा कार्बन उत्सर्जनको मात्रा अझै बढ्छ । साथै, ठूला शहरको वाहन प्रयोग, औद्योगिक प्रक्रियाहरू, र खेतीमा रासायनिक मलको अत्यधिक प्रयोगले पनि कार्बन उत्सर्जनमा योगदान गर्छ ।
वायुमण्डलमा कार्बन डाइअक्साइड (CO₂) उत्सर्जन गर्ने देशहरूको मात्रा समान छैन । औद्योगिकीकरण, ऊर्जा प्रयोग, कोइला–पेट्रोलियमको खपत, जनसंख्या तथा उत्पादन प्रणालीका कारण केही देशहरूको उत्सर्जन धेरै छ ।
विश्वका प्रमुख कार्बन उत्सर्जन गर्ने देशहरूको हालको अनुमानित अवस्थाः
क्र.सं देश विश्व CO₂उत्सर्जनमा हिस्सा (करिब) केफियत
१. चीन ३०–३१%
२. अमेरिका १३–१४%
३. भारत ७–८%
४. रुस ४–५%
५. जापान २–३%
६. युरोपेली संघ(समग्र) ६–७%
७. ब्राजिल १–२%
८. इन्डोनेसिया १–२%
९. क्यानाडा १–२%
१०. दक्षिण कोरिया १%
११. नेपाल ०.०२ देखि ०.०४% १०६ नं
चीन, अमेरिका र भारत मिलेर विश्वको आधाभन्दा बढी कार्बन उत्सर्जन गर्छन् ।
अजरबैजान किन?
ऐतिहासिक रेशम मार्ग (Silk Road) को पूर्व–पश्चिम संगमस्थलमा अवस्थित अजरबैजान प्राकृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ उपोष्णकटिबन्धीय (Subtropical) देखि समशीतोष्ण (Temperate) जलवायु क्षेत्रसम्म फैलिएका ८ प्रकारका फरक जलवायु प्रणालीहरू पाइन्छन् । उपोष्णकटिबन्धीय वनदेखि हिमाली पारिस्थितिक (Himalayan ecology) प्रणालीसम्म फैलिएको यसको भूगोलले समृद्ध जैविक विविधता निर्माण गरेको छ ।
तीव्र गतिमा हरित विकास (Green Growth) र नवीकरणीय ऊर्जा तर्फ अघि बढिरहेको अजरबैजान पेरिस सम्झौतामा सहभागी राष्ट्रको रूपमा अजरबैजानले सन् १९९० को स्तरको तुलनामा २०३५ सम्म हरितगृह ग्यास उत्सर्जन ४० प्रतिशत घटाउने प्रतिबद्धता गरेको छ । त्यसैगरी, २०३० सम्म कुल ऊर्जामा ३० प्रतिशत नवीकरणीय ऊर्जाको हिस्सा पु¥याउने लक्ष्य लिएको छ । गाराबाघ र पूर्वी जान्गेजुर क्षेत्रलाई “शून्य उत्सर्जन क्षेत्र (Zero Emission Zones)” मा रूपान्तरण गर्ने कार्य चलिरहेको छ, जसले नवीकरणीय ऊर्जा, पारिस्थितिक पुनस्र्थापना तथा द्वन्द्वपछिको विकासलाई एकीकृत गरेको छ ।
त्यस्तैगरि, अजरबैजानले नयाँ कानुनी सुधारमार्फत २०१९ देखि प्लास्टिकजन्य फोहोर न्यूनीकरण नीति लागू गरेको छ । जसअनुसार एकपटक प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध १५ माइक्रोनसम्म मोटाइ भएका प्लास्टिक झोला उत्पादन, आयात तथा बिक्रीमा रोक व्यापार तथा सेवा क्षेत्रमा प्लास्टिक प्रयोग घटाउने नीति लागू गरेकोछ । यसको साथै “समृद्ध भविश्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने नारासहित अजरबैजानले प्रकृति संरक्षण र जलवायु सहनशीलतालाई जोड दिएको छ ।
देशको १० प्रतिशतभन्दा बढी भूभाग संरक्षण क्षेत्र अन्तर्गत ल्याउदै यसले युनेस्को सूचीमा सूचीकृत हिर्कानियन वन (Hyrcanian Forests) क्षेत्रलाई संरक्षण गरेको छ । यी वनहरू विश्वकै सबैभन्दा पुराना पारिस्थितिक प्रणालीमध्ये एक हुन्, जहाँः ३,००० भन्दा बढी वनस्पति प्रजाति विविध वन्यजन्तुहरू पाइन्छन् ।
नेपाल र जलवायु संकटः
नेपालले विश्व कार्बन उत्सर्जनमा अत्यन्त कम योगदान (अर्थात विश्वको १०६ स्थान) गरे पनि जलवायु संकटको हिसाबले ठूलो असर (१० औं स्थान) भोगिरहेको छ । हिमाली क्षेत्रमा हिमनदी पग्लने गति बढ्नु, हिमताल फुट्ने जोखिम, बाढी, पहिरो, अनियमित वर्षा तथा खडेरी जस्ता समस्याहरूबाट कृषि उत्पादनमा गिरावट, पानीका स्रोतहरू सुक्दै जानु तथा जैविक विविधतामा आएको परिवर्तनले ग्रामीण जीवन प्रभावित भएको छ । यद्यपि नेपालले सामुदायिक वन व्यवस्थापन, संरक्षण क्षेत्रको विस्तार, नवीकरणीय ऊर्जाको प्रयोग तथा स्थानीय वातावरणीय अभियान मार्फत सकारात्मक उदाहरणहरू पनि प्रस्तुत गरिरहेको छ ।
नेपाल जस्तो हिमाली र जलवायु संवेदनशील देशमा यस नारालाई स्थानीय स्तरमा व्यवहारिक रूपमा लागू गर्न निम्न उपायहरू प्रभावकारी हुन सक्छन्ः
* स्थानीय स्तरमा वृक्षारोपण मात्र होइन, “वन संरक्षण + वन विस्तार गर्ने”;
* प्लास्टिकमुक्त गाउँ÷नगर अभियान संचालन गर्ने;
* एकपटक मात्र प्रयोग हुने प्लास्टिक बन्द गर्ने । स्थानीय बजारमा कपडाका झोला प्रयोग अनिवार्य गर्ने ।
* मुहान, कुवा, पोखरी र सिमसार क्षेत्र संरक्षण गरि स्थानीय जलस्रोतको संरक्षण गर्ने;
* जलवायु–मैत्री कृषि प्रणाली अपनाउने;
* नवीकरणीय ऊर्जाको प्रयोग गर्ने;
* जलवायु शिक्षा र जनचेतना;
* विद्यालयमा “Climate Club” गठन गरी चेतना फैलाउने;
* विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय आपतकालीन टोली गठन गर्ने;
* स्थानीय सरकारले हरित बजेट नीति लागु गर्ने;
* युवा र महिला समूह मार्फत पानी, वन र फोहोर व्यवस्थापन अभियान संचालन गर्ने ।
त्यसैले नेपालमा यसको कार्यान्वयन केवल सरकारी कार्यक्रम नभई घर–परिवार, विद्यालय, किसान, युवा, महिला, स्थानीय सरकार र समुदायको संयुक्त जीवनशैली परिवर्तन बन्नुपर्छ ।
निष्कर्ष:
विश्व वातावरण दिवस केवल एक दिवस मनाउने कार्यक्रम होइन; यो पृथ्वी र मानव भविष्य प्रतिको साझा प्रतिबद्धता हो । जलवायु परिवर्तनले विश्वका सबै देशहरूलाई प्रभावित गरिरहेको अवस्थामा सामूहिक प्रयास नै समाधानको आधार बन्न सक्छ । हामी पृथ्वीका मालिक होइनौँ; हामी यसको संरक्षक हौँ । प्रकृतिको संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु कार्यमार्फत मात्र हामीले सुरक्षित, हरित र दिगो भविष्य निर्माण गर्न सक्छौँ ।
आउनुहोस्— “प्रकृति बचाऔँ, वातावरण जोगाऔँ, भविष्य सुरक्षित गरौँ ।”
(लेखकः प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालका अध्यक्ष हुनुहुन्छ ।)