कर्मले दिलाएको पहिचान, झोलावाली कुमारीको उद्यमशीलता
कला राना
स्याङ्जा २९ मंसिर ।
पाल्पाकी कुमारी रानाले स्याङ्जालाई कर्मथलो बनाएको २० वर्ष भयो । २० वर्षअघि पाल्पाको रम्भा गाउँपालिका ताँहुबाट वालिङ आउनुभएकी रानाले वालिङबसाईमा आफ्नो पहिचान खोज्न शुरु गर्नुभयो । ४४ वर्षीय राना पढाईलेखाई त्यती नभएपनि हरेक काम र सिपलाई ग्रहण गर्ने क्षमता भने तेज छ । कुमारी अहिले स्याङ्जामा सफल महिला उद्यमीको रुपमा पहिचान बनाउन सफल हुनुभएको छ । फेन्सी पसल, उनीका झोला बनाउने गर्दागर्दै कुमारी अहिले हाते झोला बनाउँन व्यस्त हुनुहुन्छ । २०७१ सालबाट हाते झोलाको व्यवासयिकतामा लाग्नुभएकी कुमारीलाई अहिले भ्याईनभ्याई छ । ३५ हजारबाट शुरु गर्नुभएकी कुमारीको झोला उद्योगमा अहिले साढे ३ लाखको लगानी भईसकेको छ । कुमारीले ३ जना दिदिबहिनीहरुलाई आंशिक जागिर समेत दिनुभएको छ । सिजनमा ८० हजार मासिक कारोबार गर्ने कुमारीलाई मात्रै २ महिना अफ सिजन हो । कुमारी जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ त्यहाँ उहाँका उत्पादित हातेझोलहरु संगै लिएर जाने गर्नुहुन्छ । आफ्ना उत्पादनहरु प्रचार प्रसार गर्दै विक्रि समेत हुने गरेको कुमारी बताउनुहुन्छ ।
तस्वीरमा ः ग्राहकलाई झोला विक्रि गर्दै कुमारी (कला राना स्याङ्जा)
मेला महोत्सवमा समेत कुमारीका उत्पादनहरु तनहुँ, गुल्मी, पाल्पा र यहाँका स्थानीय मेलामा पुग्ने गरेको छ । कुमारीले घरेलूको आयोजनामा आजभन्दा ६ वर्षअगाडि वालिङमै फाईबरको झोला बनाउने तालिम लिनुभएको थियो । एक महिने फाईबरको झोला बनाउँने तालिमले कुमारीलाई झोला तर्फ आर्कषण बढेको हो । घरमै रहेका हाते झोलाको सिलाई बुनाई हेरेर उहाँले १५ दिनमा झोला बनाउँन सिक्नुभएको थियो । कुमारी भन्नुहुन्छ, “मेरो पसलबाट बाँकी रहेका झोलाहरु घरमा थिए त्यही झोला खोलेर हेरे, कहाँबाट बुन्ने, चेन कसरी राख्ने, भित्रि कसरी सिलाउने सबै हेरेँ १५ दिनमा मैले हाते झोला बनाउँन सिकेको हुँ ।” कुमारी थप्नुहुन्छ, “ती झोलाहरु देख्दा लाग्थ्यो, म जस्तै महिलाहरुले नै त बनाएका होलान् । मेहेनत र परिश्रम भए असंभव के छ र ” अहिले कुमारीको पसलमा मोबाईल झोला, हाते झोला, सपिङ झोला, जेब्रा झोला, साईड झोला जस्ता विभिन्न प्रकारका झोलाहरु भरिभराउ छन् । उहाँले डेढ सयदेखि १२ सय सम्मका झोलाहरु आँफैले बनाउनुहुन्छ । घरेलू विकास कार्यालयले ८० प्रतिशतमा दिएको जकि मेसिनले उहाँलाई झोला सिलाईमा सहजता प्रदान गरेको छ । अर्डर अनुसारकै झोलाहरु सिउन कुमारीलाई भ्याईनभ्याई भएपनि उद्योगलाई विस्तार गर्दै ठुलो होलसेलको डिलर बनाउँने अठोट उहाँमा देखिन्छ । कुमारीले सिलाईकटाई तालिम, झोला बुन्ने तालिम समेत प्रदान गर्दै आउनुभएको छ । कुमारीका श्रीमान श्रीमती दुवैको आ–आफ्नै व्यवसाय छ । श्रीमान ईलेक्ट्रोनिक सामानहरुको रिपेयर गर्नुहुन्छ । कुमारी भन्नुहुन्छ, “श्रीमानको एक्लो कमाईभन्दा दुवैजना आर्थिक उपार्जनमा लाग्न घरव्यवहार चलाउन सहज हुने रैछ । मेरो कमाईले घर व्यवहार चल्यो भने श्रीमानको कमार्इृ बचत गर्न सक्छौँ ।”
आधा करोडको घडेरी जोड्न कुमारीको कमाईले समेत केहि सहजता मिलेको थियो । विभिन्न सिप लिएर केहि गर्छु भन्ने अठोटका साथ अगाडि बढेका महिलाहरुलाई स्थानीय सरकारले समेत आर्थिक सर्पोट गर्नुपर्ने उहाँको तर्क छ । सम्बन्धीत व्यवसायीकतामा अझ विस्तारित तालिमहरु दिन सके व्यवसायलाई अगाडि बढाउँन सकिने उहाँको भनाई छ । पछिल्लो समय महिलाहरु उद्यमशीलतामा लागेका छन् । यहाँका कोहि महिला यस्तै झोला उद्योग, कोहि गुडिया बनाउँने कोही चुरापोते बनाउँने, कोही अचार बनाउँने र विक्रिवितरण गर्ने गर्दै आईरहेका छन् । यसरी हस्तकलामा लागेका महिलाहरुलाई आर्थिक सहयोग र उचित बजारीकरणको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
