ओझेल भित्रका सचेतना अभियान
No icon

लकडाउन एक अनुभव

अम्बिका परियार,  

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) को त्रास हाल बढ्दो क्रममा छ । नेपालमा पनि कोरानाको जोखिमबाट बच्नका लागि सरकारले उच्च सतर्कता अपनाउने प्रयास गरेको छ । 

फलस्वरुप नेपालमा पनि दुई साता अघि बाट लकडाउन लागु भएको छ । लकडाउन शुरु भएसंगै अरु जस्तै म पनि घर भित्र सिमित भएकी छु । अन्य दिन बिहान उठे देखि बेलुका नसुतुन्जेल सम्म घर, कलेज र अफिस गर्दा खाना खान पनि हतार हुने गर्दथ्यो । हतारै हतारमा बितेको दिनचर्या एक्कासी घर भित्र सिमित हुनु पर्दा शुरुका एक , दुई दिन निकै तनाब र हतासमा बित्यो । घरमा सबै जना आ —आफ्नो पेशा र व्यबसायमा व्यस्त हुने भएकाले मलाई जस्तै परिवारका सबैलाई लक डाउनले छट्पटी भएको थियो ।

समयको सहि रुपमा सदुपयोग गर्ने हो भने जस्तो सुकै समस्याको समाधान गर्न सकिन्छ , भने झै यति लामो लग डाउन कसरी बिताउने भनेर परिबारमा सल्लाह भयो । सल्लाह अनुसार कृषिलाई प्राथमिकता दिने र अन्य समय घर भित्रै बिताउने निर्णय भयो । यो समय तोरी, गहुँ, मसुरो केराउ लगाएतका अन्न बाली स्याहार्ने बेला हो । खेतमा काम गर्दा एकातिर शरिर फुर्तिलो हुने भने अर्काे तिर पारिवारिक जमघटले काम गर्न सहज र रमणिय हुने गर्दछ । 

हाम्रो परिवार संख्या ठुलो भएपनि सैनामैनामा हामी पाँच जना मात्र बस्छौ । बुवा आमा सहित केही सदस्यको परिवार पाल्पामा बस्नुहुन्छ भने यहाँ दाई भाउजु सहित हामी  बस्दै आएको छौँ । दाई भाउजुको आफ्नै व्यवसाय , भाई भर्खरै आठ कक्षाको परिक्षा दिएर बसेका छन् भने बहिनी सानी छिन ।

यसरी सरसर्ती हेर्ने हो भने लकडाउनले गर्दा यतिबेला परिवार भित्र पनि एकले अर्काको आबश्यकता र रुची लाई नजिक बाट नियाल्ने मौका मिलेको छ । 

दुई हप्ता अघि र अहिलेको दिनचर्यामा आकाश र जमिनको फरकपना आएको छ । बिहान सबेरै उठ्यो नोट कपि वा किताब पढ्यो , भाई बहिनी संगै बसेर चिया नास्ता खायो, सामाजिक सञ्जाल हेर्ने दैनिक नित्य कर्म नै बनेको छ । त्यसमा पनि दाई भाउजु खेत र करेसाबारीमा व्यस्त हुदां बिहानको खाना पकाउने काम म आफै गर्ने गरेकी छु । 

हाम्रो घरमा परिवारका सबै सदस्य बिहानमा संगै खाना खाने भनेको तिज, दशै र तिहार जस्ता पर्बमा मात्र हुन्थ्यो त्यर्सैले त अहिले सबै जम्मा भएर खाना खादा खुब रमाईलो लाग्छ । शनिबार पनि घरमा नबस्ने, परिवारलाई समय नदिने भनेर घरमा बेला बेलामा परिवारका सदस्यहरुको गुनासो सहितको आक्रोस सुनिरहनु पर्दथ्यो मैले । त्यतिबेला मैले दिने जवाफ एउटै हुन्थ्यो के गरौ त मेरो पेशा नै यस्तै छ । अहिले मैले नै घरमा जिस्काउने गर्छु दुई हप्ता संगै घर बसे नि अब त अलिक बर्ष लाई पुग्यो है । त्यो त भोलीका दिनमा थाह होला नी भन्ने गर्छ भाई । 

लकडाउनले तनाब भयो ,केहि काम भएन भन्दै आफन्त र साथीहरुले फोनमा बारम्बार सुनाउने गर्नुहुन्छ तर मलाई त फुसर्द नै छैन् । दुई हप्ता अघि सम्म घर बस्न नभ्याउने भएकाले होला यसरी घर बस्दा सुुरुमा अलि असहज महसुस भए पनि अहिले भने सहजताका साथ दैनिकी चलेको छ । घरमा छरपष्ट भएका सामान मिलाउने ,बेला बेलामा साथीभाई बाट उपहार स्वरुप आएका पढ्नै पर्ने तर पढन नभ्याएका किताबहरु पढ्ने, भाई बहिनी संग क्यारमबोर्ड र व्याडमिटन खेल्ने ,भाउजु संगै खाजा र खाना बनाउने, सम्भव भएसम्म इन्टरनेटको माध्यमबाट अफिसको काम पनि गर्ने , पहिले लेख्न थालेको तर बिचमै छाडेका लेखहरुलाई निरन्तरता दिने दैनिकी नै बनेको छ ।

यसरी भाई बहिनी संग खेल्दा आफनो बालापन याद हुनुका साथै मस्तिकमा ताजापन दिलाइदिन्छ । किताबहरु पढ्दा आफुलाई दैनिक व्यबहार र परिक्षामा सहज हुन्छ भने भाउजु संगै भान्सामा काम गर्दा निकै रमाइलो अनि व्यबहारिक ज्ञानमा वृद्धि हुन्छ ।

यसरी समय कटाउने र परिवार संग रमाईलो गर्ने माहोल सिर्जना भएको छ । सबै जना मिलेर घर भित्र र बाहिरको काम गर्छौ । बाँकी रहेको समय आ– आफनै काम गर्दछौ । खेत बारीको काम गरे पछि होस या  खेलेपछि होस घरमा बस्दा हामी डिटोल साबुनले हात धुने गर्दछौ भने बेला बेलामा सेनिटाईजर को पनि प्रयोग गर्दछौँ । अझ चाख लाग्दो कुरा के भने तिन बर्ष कि बहिनीले हामीलाई बाहिर जानु हुन्न, हात धुनु पर्छ, हात मिलाउन हुन्न अरुको सामान प्रयोग गर्न हुन्न भनेर आफुले अरुको सामान नचलाउने र आफनो पनि अरुलाई छुन दिएकी छैनिन् । 

सधै हतारै हतार र आ—आफ्नो पेशा व्यबसायमा आबद्ध मेरो परिवारले लक डाउनलाई पारिवारिक जमघट र आफ्नो कामको अनुभब साटासाट गर्ने अबसर जस्तै मानेको छ । सरकारको निर्देशन अनुसार लक डाउनको पालना गर्नु हामी नागरिकको कर्तव्य पनि हो ।  आफु बाचे पो संसार दखिन्छ त्यसैले घर भित्रै बसौं । यो कुनै बेलाको निश्चित समयको नेपाल बन्द जस्तो होईन ताकी कतिबेला त्यो समय आउंछ अनि खुल्छ र बाहिर निस्कन्छु भन्ने । यो त हामी जति आफ्नो घर भित्र बस्छौ त्यत्ति नै उत्तम समय हो । बेलुका पख सडक भरि मानिसहरु हिडेको देख्दा यस्तो लाग्छ , मान्छेहरु आफ्नो स्वास्थ्य प्रति आफैले खेलवाड गरे जस्तो लाग्छ । 

Comment As:

Comment (0)