कृषि सहकारीमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

कचल कृषि सहकारी संस्था लि.तिनाउ १,कचल,पाल्पाले आफ्नाे सञ्चालक समिति,उपसमिति,स्थानीय महिला समूहका पदाधिकारी एवम् सदस्यका लागि क्षमता अभिवृद्धि तालिम मंगलवार कचलमा सम्पन्न गरेकाे छ ।
तालिममा क्षमताकाे अर्थ,यसकाे क्षेत्र,वृद्धिका उपायहरु, सहकारीका सिद्धान्त, मूल्यमान्यता,बैठक सञ्चालन,माइन्यूट लेखन र निर्णय प्रक्रिया एवम् पद्वतिका सन्दर्भमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । 
तालिममा संस्थाका अध्यक्ष भाेजबहादुर छहरीमगरले स्थानीय स्तरमा गतिशील आफ्नाे कृषि सहकारीले आर्थिक काराेवारमात्र हाेईन,सामाजिक उत्तरदायित्व र क्षमता अभिवृद्धि गर्ने तालिम,गाेष्ठीकाे आयाेजना गर्दै स्थानीयहरुलाई सशक्त बनाउँदै लगेकाे बताए ।
तालिममा सहभागीहरुका तर्फबाट चुना बगाले र हेमा घर्तिले छाेटाे समयकाे तालिममा सैद्धान्तिक तथा प्रयाेगात्मक कक्षाहरुबाट आफूहरुले धेरै विषयवस्तु सिक्ने अवसर प्राप्त गरेकाेमा खुसी प्रकट गरे । उनीहरुले आगामी दिनमा पुनर्ताजगी तालिमकाे अपेक्षा समेत गरेका थिए ।
उक्त सहकारीले कचल क्षेत्रमा वेमाैसमी तरकारी खेती गर्दै आईरहेकाे सचिव शान्ता खड्काले बताईन् । क्षमता अभिवृद्धि तालिमले आफ्ना सञ्चालकहरुलाई दक्ष,याेग्य र क्षमतावान बनाउने उनले बताईन् ।
